खुश्बु

प्यारी बहिनी खुश्बु र म, उसको १८औं जन्मदिनमा

भुँइमा छरिएको एल्बमबाट रातो घुम्टीमा सजिएकी आफ्नो ममीको फाटो निकाल्दै खुश्बुले सोधि “म खै त ममी यो फोटोमा ? तपाई र बाबा मात्र हुनुहुन्छ ?” खुश्बुले फेरि एल्बमका फोटोहरु पल्टाउदै म तिर हेर्दै भनि ” म ठुलो भएपछि त सङ बिहा गर्छु है बिजे ?” मैले उसको अनुहार हेरिराखें । केहि बोलिन । एकछिन हास्न मन लाग्यो । तर हासिन । खुश्बुले फेरि सोफामा बसेर टिभी हेरिरहनुभएको मामातिर हेर्दै भनि । “बाबा म ठुलो भएपछि बिजे सङ बिहा गर्छु है ?” मामा हास्नुभयो । मामाले म तिर हेर्दै भन्नुभयो । “बहिनिले भनेपछि हुन्छ भन्देउ न भाञ्जा” । मैले खुश्बूलाइ हेर्दै “हुन्छ” भने । खुश्बु खुसि भई । उसलाइ के थाहा हामीले घरकुटी खेल्ने बेला गर्ने बिहा र ठुलो भएपछि गर्ने बिहामा कति भिन्न हुन्छ भनेर । त्यो भिन्नताको बारेमा हामी उसलाइ बुझाउन पनि चाहान्थेनम । खुश्बु बालखै छे । लगभग ५ बर्षकि । उसलाइ बुझाउने भन्दा पनि हामी उसलाइ नकार्न चाहान्थेनम ।

खुश्बु मामा-माइजुकि छोरी होईन । छोरा थिई । दुब्लि । सावलि । अलि हठि । जिद्दि । केटाका जस्तै छोटो कपाल । उस्ले भनेको हुनै पर्ने । मायाले पुल्पुलिएकि । मायाले पुल्पुलिएकि भन्दा पनि मामा माइजु र आफन्तले गर्ने अथाह माया र प्रेमलाइ उस्ले दर्शाउने माध्यम थियो उसको उसको त्यो जिद्दीपन र हठीपन ।

खुश्बु प्राय दुइ खुट्टा पछाडी खुम्च्याउदै आफ्ना पाइताला बाहिर देखाउदै थचक्क भुइमा बस्थी । हातमा अटाइ नअटाइ तासहरु समाउदै फिट्थी । मलाइ र आफुलाइ बाड्थि । १३/१३ ओटा । ति मसिना साना हातमा १३ ओटा तासलाइ मयुरको पखेटाझै बुढी औला र कान्छी औलाहरुबिच फैलाउथी । केहि तासहरु उसको हातमा नअटेर भुइमा खस्थे । उ टिप्थी । फेरि मिलाउथि । माइजु उसको हाथको तासहरुलाइ मिलाइदिन खोज्नुहुन्थ्यो । उसले दिन्थिन । उ आफै मिलाउन खोज्थि । अनि भन्थि, “मेरो यति हात लेख बिजे ।”

तास खेल्दा खुश्बुलाइ जित्नै पर्थ्यो । उसलाइ लाग्थ्यो उसले हार्नुहुदैन । उसले जित्नै पर्छ । उसलाई जिताउनको लागी हामिले हार्नै पर्थ्यो । कहिले काहि म उस्लाइ जिस्काउदै हराउन खोज्थेय । उ रिसाउथी । हाथ भरिका तासहरु भुइमा छरिदिन्थि । खुश्बु न आफु जिथि न हामीलाइ जित्न दिन्थि ।

खुश्बुको हठी स्वभावले कहिले काही माइजुलाइ निकै नै सताउने गर्थ्यो । खासगरि खाना खुवाउने बेला र गृहकार्य गराउने बेलामा । अझ खासगरि खाना खुवाउने बेलामा बढी सास्ति हुन्थ्यो । उ कहिले सोफामाथी चढ्थी । कहिले कम्प्युटर टेबलमाथी । माइजुले खुवाइदिएको एक गास उसले धेरै बेर सम्म चपाइराख्थि । मानौ उसलाइ त्यो निल्नको लागि निकै सास्ति हुने गर्थ्यो । माइजुलाइ खाना खुवाउन सास्ति भएजस्तै ।

जब खुश्बुलाइ भोक लाग्थ्यो एक्दम बिछट्टै तरिकाले भोक लाग्थ्यो । खुश्बु भन्थि “ममी भोक लाग्यो ।” माइजु भन्नुहुन्थ्यो, “के को भोक लाग्यो महाराजलाइ ?” खुश्बु मक्ख पर्दै भन्थि “पिज्जाको भोक लाग्यो ।”

खुश्बुलाई कहिले White Rabbit को भोक लाग्थ्यो । कहिले सेकुवाको । कहिले पानिपुरिको र कहिले चट्पटेको । तर उसलाइ भातको भोक कहिले लागेन जुन माइजुले चाहानुहुन्थ्यो । उसलाइ जे कुराको भोक लाग्थ्यो, त्यो उस्लाइ जसरी पनि चाहिन्थ्यो । तर स्कुल जाने बेलामा उसलाइ जे को भोक लागे पनि उसले भात नै खानु पर्थ्यो ।

खुश्बुलाई त्यही बेला अनेक कुराहरु आउथ्यो । ति कुराहरु मुखभित्रको गास ननिलेरै भन्न खोज्थि । उसको बोलि पान खादै बोलिरहेको मान्छेको जस्तो सुनिन्थ्यो । माइजु उसलाइ फकाउनको लागि उसको हरेक कुराको जवाफ दिन खोज्नु हुन्थ्यो । त्यहि पनि उसलाइ त्यो मुखभित्रको गास निल्न निकै गारो हुन्थो । उ सोध्दै जान्थी, माइजु उत्तर दिदै जानु हुन्थ्यो । अन्त्यमा उसको मुखमा लिटो जस्तै भइसकेको भात सर्लक्क पेटमा जान्थ्यो ।

खाना खुवाउने बेलाको सास्तिले गर्द माइजु दिक्क मानेर कहिले काहि म तिर हेर्दै भन्नु हुन्थ्यो । “अहिले यति दुख गरेर खुवायो, हुर्कायो, भोलि कसका लागि हुने हो खै ?” खुश्बुले यस्ता कुरा बुझ्थिन । म बुझ्थे अलिअलि । उसले एकदिन बिहा गरेर जानुपर्नेछ । र त्यस कुराले मलाइ नरमाइलो महशुस गराउदथ्यो ।

बिदाको समयमा म प्राय मामाघरमै हुन्थे । खुश्बु र म दाजु-बहिनी भन्दा पनु साथी बनिसकेका थिईम । एकदमै घनिष्ठ । भलै हाम्रो उमेरमा १०/११ बर्षको भिन्नता थियो । तर हामीले खेल्ने खेल एउटै थियो । हामी कहिले सोफाका खुट्टामुनिको खाली ठाउमा गएर घरकुटि खेल्थ्यौ । कहिले छतनिरको भर्यागंको माथिल्लो कुचुक्क परेको खाली ठाउमा । कहिले संगै तास खेल्थ्यौ । कहिले कम्प्युटरमा DX-Ball । खुश्बसग खेल्दा म खुश्बुजस्तै बनिदिन्थे । सानो । बच्चाजस्तो । उ रमाउनका लागी मसग खेल्थि । म उसलाई भुलाउनको लागी उसग खेल्थे ।

म आफै पनि त्यो बेला तरुण अवस्थामा भएका बेला खुश्बुको रिस र हठलाई सहि ढंगले सम्हाल्न सक्दिनथे । तर मलाई प्रायजसो लाग्थ्यो उसको त्यो जिद् थिएन । उसले त आफुलाई अथाहा माया गर्ने मान्छेहरु प्रति उसको त्यो अबोध बालापनको हठलाई हक मानेर जमाईरहेकि थिई । तर पनि म उसलाई बोक्न छोड्थिन । उसको लागी घोडा बनेर उसलाई आफ्नो ढाडमाथी चढाउन छोड्थिन । उसलाई काधमा चढाएर छतमा जानेबेला उसको टाउको टिनमा ठोकिन्छ कि भनेर आफु कुप्रो पर्दै छतमा उसलाई घुमाउन लैजान छोड्थिन । उ रोएको बेला उसलाई हसाउनको लागी उसका पातला अनि कोमल गालामा म्वाईं खान छोड्थिन ।

बच्चाबच्ची खासै नरुचाउने म, खुश्बुसगको संगतले मलाई धेरै कुरा सिकाएको थियो । उनिहरुले हामीमाथी हक संझेर देखाउने जिद्दीपन, हठीपन, र स्नेहलाई सावधानीपुर्वक सम्हाल्न सिकाएको थियो । त्यस अवस्थामा आफु कति पनि बिचलित नभई उनिहरुलाई हसाउन र फकाउन गरिने प्रयासहरुबारे सिकाएको थियो । खासगरि त खुश्बुसंगको संगतले मेरो मनमा बच्चाबच्चीहरु प्रतिको माया उब्जाईदिएको थियो । त्यस टिनएजर अवस्थामा पनि ।

आज कति बर्ष पछि, अझ ठ्याक्कै किटानै गरेर भन्दाखेरि लगभग ९ बर्षपछि म खुश्बुलाई भेट्न जादै छु । उसको जन्मदिनको अवसर पारेर । उहि खुश्बुलाई जसले गर्दा थोरै भएपनि लम्किको स्कुलमा बच्चाबच्चीहरुलाई केहि समय पढाएर उनिहरुको प्यारो बन्न सके । उहि खुश्बु जसलाई म बोकेर स्कुल लैजाने-ल्याउने गर्थे । उहि खुश्बु जो ठुलो भएपछि बिजेसॅग बिहा गर्न चाहान्थी । अब त उसले नै मलाई बोक्न सक्ने भईसकि । लाज मान्ने भईसकि । हामीहरु साथी नभएर दाई-बहिनी हौं भन्ने कुरा थाहा पाउने भैसकि । अब यस उमेरमा उसलाई मैले “तिमी ठुलो भएपछि मसंग बिहा गर्न चाहान्थ्यौ ।” भनेर संझाउदा उसको चेहेराको रंग कस्तो होला ? उ लजाउदा बच्चाको जस्तै खुश्बु देखिन्छे कि देखिदैने होला ? मलाई आज हेर्न मन छ ।

बिहीबार असार ३१, २०७८

Leave a comment