काबुलीवाला – रबीन्द्रनाथ टैगोर

kabuliwalaरबीन्द्रनाथ टैगोर (रबीन्द्रनाथ टैगोर की कहानियाँ)

मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिँदैनथ्यो । जन्मेपछि भाषा सिक्न उनले एक वर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुन्जेल उनी एकैछिन पनि चुप लागेर बस्न सक्दिनन् । उनकी आमा कहिलेकाहीँ उनलाई हप्कीधप्की गरेर चुप लगाउने गर्छिन्, तर म यस्तो गर्न सक्दिनँ । मिनी चुप लागेर बस्दा अनौठी देखिन्छिन्- मानौं म उनी चुप लागेर बसेको धेरै बेर हेर्नै सक्दिनँ । वास्तविक कारण यही हो कि उनको र मेरो कुराकानी निकै उत्साहका साथ चल्ने गर्छ ।

बिहान म आफ्नो उपन्यासको सत्रौं अध्याय लेख्न लागिरहेको थिएँ । मिनी आएर भन्न थालिन्, “बाबा, रामदयाल चौकीदार काकालाई कौवा भनिरहेको थियो । उसलाई केही पनि थाहा छैन । है बाबा ?”

संसारको भाषाको विभिन्नताको बारेमा म उनलाई केही ज्ञान दिन लागिरहेको थिएँ, त्यसै बेला उनले अर्को प्रसंग निकालिन्, “बाबा, बाबा । आकाशबाट हात्ती सूँडले पानी छर्छ रे, अनि त्यसैले पानी पर्छ रे हो बाबा ? भोलाले भन्दै थियो । आम्मै ! भोलाले झुट कुरा गर्छ है बाबा ? दिन–रात बोलेको बोल्यै गर्छ है बाबा ?”

यो विषयमा एकैछिन पनि मेरो राय नपर्खी उनले अचानक सोधी, “बाबा, आमा तपाईंको को पर्नु हुन्छ ?”

मनमनै भनें, “बदमास ।”

र, मुखले भनें, “मिनी, तिमी जाऊ, भोलासँग खेल । मलाई थुप्रै काम गर्नु छ ।”

उनी मेरो लेख्ने टेबल नजिकै मेरो खुट्टानेर बसिन् । दुवै घुँडा र हात हल्लाएर फुर्तीले मुख चलाउँदै घोक्न थालिन्, “अक्कड बक्कड घोडा डुम ।”

त्यो बेला मेरो उपन्यासको सत्रौं अध्यायमा प्रतापसिंह कञ्चनमालालाई लिएर अँध्यारो रातमा कारागारको अग्लो झ्यालबाट तल नदीमा हामफालिरहेको थियो ।

मेरो कोठा सडकको किनारमा थियो । एकाएक मिनी ‘अक्कड बक्कड’ खेल्न छोडेर झ्यालको छेउमा दौडेर पुगिन् र जोडले बोलाइन्, “काबुलीवाला ! ओ, काबुलीवाला !!”

नमिलेका फोहोर लुगा लगाएको, टाउकोमा पगडी बाँधेको, काँधमा झोला झुन्डाएर र हातमा अंगुरका दुई–चार पिटारी लिएर एउटा अग्लो काबुली सुस्तसुस्त सडकमा हिँडिरहेको थियो । उसलाई देखेर छोरीको मनमा कस्तो भावना जाग्यो होला, भन्न मुश्किल छ तर उनी जोड–जोडले बोलाइरहेकी थिइन् । मैले सोचें, काँधमा झोला भिरेर अब एउटा आपत मेरो टाउकोमा सवार हुनेछ र मेरो सत्रौं अध्याय समाप्त हुन पाउनेछैन ।

मिनीले बोलाएको सुनेर काबुलीले हाँस्दै आफ्नो अनुहार घुमायो र मेरो घरतिर आउन थाल्यो । मिनी हतार-हतार भएभरको शक्ति लगाएर भित्रतिर दगुरिन् र बेपत्ता भइन् । उनको मनमा एकप्रकारको अन्धविश्वास भरिएको थियो कि त्यो काबुलीको झोलामा मिनी जस्ता दुई–चार जीवित बच्चा भेटिन सक्छन् ।

काबुलीले अगाडि आएर हाँस्दै नमस्ते गर्‍यो र उभिरह्यो । मैले सोचें, हुन त प्रतापसिंह र कञ्चनमाला दुवैको स्थिति बडो संकटमा छ तर पनि यो मानिसलाई घरमा बोलाएर केही नकिनी पठाउनु पनि ठीक हुनेछैन ।

केही सामान किनें । त्यसपछि यता–उताको कुराकानी पनि हुन थाल्यो अब्दुल रहमानसँग । रुस, अंग्रेज, सीमान्त रक्षानीतिमा कुरा भइरह्यो ।

अन्त्यमा जाने बेलामा उसले सोध्यो, “साहेब, तपाईंकी छोरी कता गइन् ?”

मिनीको मनबाट बेकारको डर हटाउने सोचाइले मैले उनलाई बाहिर बोलाएँ । उनी मसँग टाँसिएर उभिइन् । शंकाको दृष्टिले काबुलीको अनुहार र उसको झोलातिर हेरिरहिन् । काबुलीले झोलाबाट काजू, किसमिस निकालेर दिन चाह्यो तर उनले लिन मानिनन् । दोब्बर शंकाका साथ उनी मेरो घुँडामा टाँसिएर उभिइन् । पहिलो परिचय यसरी भएको थियो ।

केही दिनपछि बिहानै कुनै आवश्यक कामले म घरबाहिर निस्किँदा देखें, छोरी ढोकाछेउको बेन्चमा बसेर बिनासंकोच कुरा गरिरहेकी छन् । काबुली उनको खुट्टाको छेउमा बसेर मुस्कुराएर सुनिरहेको छ र बीचबीचमा प्रसंगअनुसार आफ्नो राय पनि खिचडी भाषामा व्यक्त गरिरहेको छ । मिनीको ५ वर्षे अनुभवमा उनको बुबाबाहेक यस्तो धैर्यवान स्रोता शायदै पहिले कहिल्यै भेटिएको होस् । फेरि देखें, उनको सानो अञ्जुली बदाम, किसमिसले भरिएको छ ।

मैले काबुलीसँग भनें, “यिनलाई यो सब किन दिएको ? यस्तो नगर्नू ।”

यति भनेर मैले गोजीबाट आठाना पैसा निकालेर उसलाई दिएँ । उसले अप्ठ्यारो नमानी आठाना लिएर झोलामा हाल्यो ।

घर फर्किदा देखें, त्यो आठानीको विषयमा ठूलो हो–हल्ला शुरु भइसकेको थियो ।

मिनीकी आमा एउटा सेतो चमचमाउँदो गोलाकार पदार्थ हातमा लिएर मिनीलाई हप्काउँदै सोधिरहेकी थिइन्, “तैंले यो आठानी कहाँबाट पाइस् ?”

मिनीले भनिन्, “काबुलीवालाले दिएको हो ।”

उनकी आमाले भनिन्, “काबुलीवालासँग तैंले आठानी किन लिएको ?”

मिनीले रुन्चे स्वरमा भनिन्, “मैले मागेको होइन, ऊ आफैंले दिएको ।”

म आएर मिनीलाई आइलागेको विपत्तीबाट बचाएँ र बाहिर लिएर गएँ ।

थाहा भयो- काबुलीसँग मिनीको यो नै दोस्रो भेटघाट थिएन । यसबीचमा ऊ सधैं आउने-जाने गरिरहन्थ्यो र मिनीलाई घूसस्वरूप पेस्ता–बदाम दिएर मिनीको कोमल लोभी हृदयमा धेरै अधिकार जमायो ।

यी दुई साथीमा केही निर्धारित कुरा र ठट्टा भइरहन्थ्यो । जस्तो: रहमानलाई देख्नेबित्तिकै मेरी छोरी हाँस्दै ऊसँग सोध्थिन्, “काबुलीवाला, ओ काबुलीवाला ! तिम्रो झोलामा के छ ?”

रहमान मजाकमा जवाफ दिन्थ्यो, “हात्ती ।”

अर्थात् उसको झोलाभित्र हात्ती छ, यो उसको ठट्टाको सूक्ष्म अर्थ थियो । अर्थ जेजस्तो भए पनि यो ठट्टामा दुवैलाई बडो मजा आउँथ्यो । यो चिसो मौसममा वयस्क र सानी बच्चीको सरल हाँसो मलाई पनि बडो राम्रो लाग्थ्यो ।

त्यो बेला अर्को एउटा कुरा भइरहेको थियो । रहमान मिनीसँग भनिरहेको थियो, “खोखी (मुन्नी) तिमी कहिल्यै विवाह गरेर ‘ससुराली’ नजानू है !”

बंगाली परिवारका केटीहरु बाल्यकालदेखि नै विवाह शब्दसँग परिचित हुन्छन् तर हामी केही आधुनिक भएका कारण सानी बच्चीलाई विवाहको बारेमा सचेत गराएका थिएनौं । यसैले रहमानको कुराको अर्थ उनी राम्ररी बुझ्न सक्दिन थिइन्, तर कुनै कुराको जवाफ नदिइकन चुप लागेर बस्नु उनको स्वभावको बिल्कुलै विपरीत थियो । उनले तुरुन्तै रहमानसँग सोधिन्, “तिमी विवाह गरेर ससुराल जान्छौ ?”

रहमान काल्पनिक ससुराप्रति आफ्नो ठूलो मुड्की उज्याएर भन्छ, “म त ससुरालाई मार्छु ।”

यो सुनेर मिनी ‘ससुरो’ नामको कुनै अनौठो प्राणीको दुर्दशाको कल्पना गरेर खुब हाँसिन् ।

जाडोको घमाइलो दिन थियो । प्राचीनकालमा यस्तो बेला राजाहरु दिग्विजय गर्न निस्किन्थे । म कलकत्ता छोडेर कतै गएको थिइनँ । शायद यसैले मेरो मन संसारभरि घुम्ने गर्थ्यो । म मानौं सदियौंदेखि घरको कुनामै बसिरहेको छु । बाहिरी संसारका लागि मेरो मन सदा बेचैन रहन्छ । कुनै देशको नाम सुन्नेबित्तिकै मन दौडिहाल्छ । कुनै विदेशीलाई देख्नेबित्तिकै मेरो मन तुरुन्तै नदी–पहाड–जंगलको बीचमा एउटा कुटीको दृश्य देख्न थालिहाल्छ । कल्पनामा उल्लासले भरिएको स्वतन्त्र जीवनको एउटा चित्र जाग्न थाल्छ ।

म पनि यति एकान्त प्रकृतिको छु कि आफ्नो कोठा छोडेर एकछिन बाहिर निस्किँदा पनि टाउकोमा बिजुली खसेझैं हुन्छ । त्यसैले बिहानै आफ्नो सानो कोठाको टेबलअगाडि बसेर काबुलीसँग गफ लगाउँदै आफ्नो घुमफिरको आनन्द पूरा गर्ने गर्छु ।

दुवैतिर उकालोओरालो, दुर्गम, डढेको, रातो-रातो अग्लो पहाडको शृंखलाको बीचमा साघुँरो मरुभूमिको बाटो र त्यसमा सामान लादिएका उँटको लस्कर हिँडिरहेको छ । पगडी बाँधेका व्यापारी र यात्रीहरु छन् । कोही ऊँटमा त कोही पैदल हिँडिरहेका छन् । कसैको हातमा भाला छ त कसैको हातमा पुरानो जमानाको चकमक पत्थरले हानिने बन्दुक । काबुली आफ्नो मेघ गर्जनजस्तो स्वरले खिचडी भाषामा आफ्नो देशबारे सुनाइरहन्छ । यो चित्र मेरो आँखाको अगाडि लश्करझैं बढ्दै जान्छ ।

मिनीकी आमा बडा शंकालु स्वभावकी छिन् । बाटोमा कुनै आहट हुनेबित्तिकै उनलाई लाग्थ्यो- दुनियाँभरका जँड्याहा मातेर हाम्रो घरतिर दौडिँदै आइरहेका छन् । यो दुनियाँ हरेक ठाउँ चोर–डाँकू, जँड्याहा, सर्प, बाघ, भालु, मलेरिया, सुँघुर, ब्वाँसो र गोरोले भरिएको हुन्छ भन्ने उनको विचार छ । यतिका दिनदेखि (जबकि धेरै दिन भएकै छैन) दुनियाँमा बसेर पनि उनको मनबाट यो डर हटेको छैन ।

खासगरी रहमान काबुलीको बारेमा उनी पूर्ण रुपमा निश्चिन्त थिइनन् । उसमा खास नजर राख्न उनी बारम्बार मसँग अनुरोध गर्थिन् । म उनको शंकालाई हाँसोमा उडाउने कोसिस गर्थें । तब उनी मसँग एक–एक गर्दै अनेक प्रश्न सोध्थिन्, “के कहिल्यै कसैको छोराछोरी चोरी भएका छैनन् ? के काबुलमा गुलामी–प्रथा चलेको छैन ? एक बलियो बाङ्गो काबुलीलाई एउटा सानो बच्चा चोरेर लान असम्भव छ र ?”

म मान्छु कि यी कुरा बिल्कुलै असम्भव छैनन् तर विश्वासयोग्य पनि छैनन् । विश्वास गर्ने शक्ति हरेकमा समान हुँदैन, यसैले मेरी पत्नीको मनमा डर बसिरहेको थियो । तर, शंकाकै भरमा कुनै दोषबिना रहमानलाई आफ्नो घर आउनबाट मैले रोक्न सकिनँ ।

हरेक वर्ष माघमा रहमान आफ्नो देश जाने गर्छ । यो समयमा ऊ आफ्नो उधारो पैसा उठाउन राम्ररी सक्दैन । घर–घरमा दौडिनुपर्छ । तर ऊ एकपटक मिनीसँग भेट गर्न आउने गर्छ । लाग्छ- यी दुईमा कुनै षड्यन्त्र चलिरहेको होस् । ऊ जुन दिन बिहान आउन पाउँदैनथ्यो, त्यो दिन साँझ आउँथ्यो । अँध्यारो कोठाको कुनामा खुकुलो कुर्था पाइजामा लगाएर झोला–झ्याम्टा बोकेको अग्लो मानिस देखेर साँच्चै मनमा अचानक एउटा आशंकाजस्तो उब्जन्छ । तर, जब म देख्छु- मिनी ‘काबुलीवाला, काबुलीवाला’ भन्दै हाँस्दै दौडिँदै जान्छिन् र अलग–अलग उमेरका दुई पुराना साथीबीच सहज परिहास चल्न थाल्छ, तब मेरो हृदय खुशीले भरिन्छ ।

एकदिन बिहानै म आफ्नो सानो कोठामा बसेर आफ्नै किताबको प्रुफ हेरिरहेको थिएँ । जाडोको मौसम सकिनुअघि आज दुई–तीन दिनदेखि धेरै चिसो बढेको थियो । चारैतिर सबैका दाँत किटकिटाइरहेका थिए । झ्यालको बाटो भएर घाम छिरेर मेरो खुट्टामा परिरहेको थियो । यो न्यानो मलाई धेरै रमाइलो लागिरहेको थियो । बिहान करिब ८ बजेको हुँदो हो । गलबन्दी बेरेर बिहानै घुम्न निस्किने मानिसहरु घुमफिर गरिसकेर फर्किरहेका थिए । यही बेला सडकमा निकै होहल्ला मच्चिएको सुनियो ।

हल्ला आएतिर हेरें- रहमानलाई दुई सिपाहीले बाँधेर लगिरहेका छन् र उसको पछिपछि तमाशा हेर्ने मानिसको भीड छ । रहमानको लुगामा रगतको दाग छ र एउटा सिपाहीको हातमा रगत लतपतिएको चक्कु छ । मैले ढोकाबाहिर गएर सिपाहीलाई सोधें, “यो सब के हो ?”

केही कुरा सिपाही र केही रहमानबाट थाहा पाएँ । हाम्रै छिमेकमा एक मानिसले रहमानसँग उधारोमा एउटा रामपुरी बर्को किनेको थियो । केही पैसा अझै तिर्न बाँकी थियो, जुन उसले तिर्न मानेन । यसैमा बहस हुँदाहुँदै रहमानले उसलाई चक्कुले घोपिदियो ।

रहमान त्यो मानिसलाई अनेक गाली गरिरहेको थियो । यसै बेला ‘काबुलीवाला, ओ काबुलीवाला’ भन्दै मिनी घरबाट बाहिर निस्केर आइन् ।

क्षणभरमा रहमानको अनुहारमा उज्यालो हाँसो झुल्कियो । उसको काँधमा आज झोला थिएन, यसैले झोलाको बारेमा दुवै साथीले पुरानो चर्चा गर्न सकेनन् । मिनी आउनेबित्तिकै एकाएक सोध्न थालिन्, “तिमी ससुराली जाँदै छौ, हो ?”

रहमानले हाँसेर भन्यो, “हो, त्यतै त गइरहेको छु ।”

उसलाई लाग्यो- उसको यो जवाफले मिनी हाँसिनन् । तब उसले हात देखाएर भन्यो, “ससुरालाई मार्ने थिएँ तर के गर्नु- हात बाँधिएको छ ।”

संगीन अपराध गरेको अपराधमा रहमानलाई कैयौं वर्षको कैद सजाय भयो ।

उसलाई मैले बिस्तारै-बिस्तारै बिर्सदै गएँ । हामीहरु आ–आफ्नो घरमा दैनन्दिनको काम गर्दै आरामले दिन बिताइरहेका थियौं । त्यतिबेला पहाडमा स्वतन्त्र घुम्ने यायावरले जेलको पर्खालभित्र कसरी वर्षौं वर्ष बिताइरहेको होला ? यो कुरा कहिल्यै हाम्रो मनमा आएन ।

चञ्चल हृदयकी मिनीको व्यवहार त अझै पनि लाजमर्दो थियो । उनले छिटै पुरानो साथीलाई बिर्सिएर नबी सइससँग मित्रता गाँसिन् । उमेर बढ्दै जाँदा साथी बदलिँदै गए । एकपछि अर्का नयाँ साथी भेटिन थाले । यतिसम्म कि अब उनी मेरो लेख्ने कोठामा पनि देखिन छाडिन् । मैले पनि एक प्रकारले उनीसँग ‘कट्टी’ गरेको थिएँ ।

धेरै वर्ष बिते । फेरि जाडो आयो । मिनीको विवाहको कुरो छिनियो । दुर्गापूजाको छुट्टीमा नै उनको विवाह हुने टुंगो लाग्यो । घर अँध्यारो बनाएर उनी पतिको घर जानेछिन् ।

आज बिहानको सूर्योदय बडो सुन्दर छ । वर्षापछिको जाडोमा उदाएको घामले आल्हादित बनाएको छ । आगोमा गलाएको सुनझैं देखिएको छ बिहानी । कलकत्ताको गल्लीमा जोडिएका र भत्किएका इँटे भवनमा पनि यो घामको चमकले अनौठो सौन्दर्य छरिदिएको छ ।

हाम्रो घरमा बिहान घाम उदाउनुअघिदेखि नै शहनाई बजिरहेको छ । मानौं त्यो शहनाई मेरो हृदयभित्र रुँदै बजिरहेको छ । त्यसको करुण भैरवी राग बिछोडको पीडालाई दुनियाँभरि फैलाइरहेको छ । आज मेरी मिनीको विवाह हो ।

बिहानैदेखि बडो हल्लाखल्ला र मानिसको आउजाउ शुरु भएको छ । आँगनमा बाँस बाँधेर पाल लगाइँदैछ, घरको कोठा र बरन्डामा झुम्मर झुन्ड्याएको टन–टन सुनिरहेको छ । हल्ला उस्तै बेतोडको छ ।

म आफ्नो पढ्ने कोठामा बसेर खर्चको हिसाब लेखिरहेको थिएँ । अचानक रहमान मेरो अगाडि आएर नमस्ते गर्दै उभियो ।

पहिले त मैले उसलाई चिन्नै सकिनँ । ऊसँग झोला थिएन । उसको त्यो लामो लट्टेदार कपाल पनि थिएन । न अनुहारमा नै कुनै चमक थियो । अन्त्यमा उसको मुस्कानबाट मैले उसलाई चिनें ।

“के हो रहमान, कहिले आयौ ?” मैले सोधें ।

उसले भन्यो, “हिजो साँझ जेलबाट छुटें ।”

यो कुरा मेरो कानमा जोडले ठोकियो । कुनै हत्यारालाई मैले कहिल्यै आफ्नो आँखाले देखेको थिइनँ । उसलाई देखेर मेरो अन्तस्करण विचलित भयो । मेरो इच्छा थियो- आज यो शुभदिनमा यो मानिस यहाँबाट जाओस् ।

मैले ऊसँग भनें, “आज हाम्रो घरमा एउटा जरुरी काम छ, म त्यही काममा लागेको छु, आज तिमी जाऊ ।”

सुन्नेबित्तिकै ऊ जान तयार भयो तर फेरि ढोकानजिकै गएर उभियो र केही संकोच मान्दै भन्यो, “एकपटक मुन्नीलाई हेर्न पाउँदिन ?”

शायद उसलाई लाग्दो हो- मिनी अझैसम्म उस्तै छिन्, जस्तो उसले छाडेर गएको थियो, मिनी आज पनि त्यसैगरी पहिलेजस्तै ‘काबुलीवाला, काबुलीवाला’ भन्दै दौडिँदै आउनेछिन् र उनको हाँसो भरिएको अद्भूत कुरामा कुनै प्रकारले केही फरक आउने छैन । यहाँसम्म कि उसले कागजको दुनामा थोरै किसमिस र बदाम दिन्छ- पहिले जस्तै । तर, ऊसँग पहिलाको झोला थिएन ।

मैले भनें, “आज घरमा काम छ । आज कसैसँग भेट हुन सक्दैन ।”

ऊ केही उदास भयो । स्तब्ध उभिएर मतिर एकटक लगाएर हेर्न थाल्यो फेरि ‘नमस्ते साहेब’ भनेर ढोकाबाहिर निस्कियो ।

मेरो हृदयमा दयाको भाव पलायो । सोचिरहेको थिएँ- उसलाई बोलाऊँ । देखें- ऊ आफैं फर्केर आइरहेको थियो ।

नजिकै आएर उसले भन्यो, “यी किसमिस र बदाम मुन्नीको लागि लिएर आएको हुँ, उनलाई दिनुहोला ।”

सबै कुरा लिएर मैले त्यसको दाम तिर्न चाहें, तब उसले एकाएक मेरो हात समाएर भन्यो, “तपाईंको उपकार म सधैं याद राख्नेछु, साहेब । मलाई पैसा नदिनुस् । साहेब, जस्तो तपाईंकी छोरी हो, त्यस्तै मेरी पनि एउटी छोरी छ । म उसलाई सम्झेर तपाईंकी छोरीको लागि थोरै फलफूल लिएर आउँथें । म यहाँ कुनै सामान बेच्नको लागि आउँदिनथें ।”

यति भनेर उसले आफ्नो खुकुलो कुर्थाको गोजीमा हात हालेर एउटा मैलो कागज निकाल्यो र बडो जतनले खोलेर दुवै हातले टेबलमा फिँजायो ।

मैले देखें, कागजमा एउटा सानी बच्चीको हातको छाप छ । फोटो होइन, तैलचित्र होइन, मात्र हातमा थोरै कालो लगाएर त्यसैको छाप लिइएको छ । छोरीको यो सानो याद छातीमा सँगालेर रहमान हरेक वर्ष कलकत्ताका गल्लीमा सुख्खा फलफूल बेच्न आउँथ्यो, त्यो नाजुक सानो हातको स्पर्श उसको बिछोडले भरिएको छातीमा अमृत घोल्ने गर्थ्यो ।

यो देखेर मेरो आँखा रसायो । मैले बिर्सिएँ कि ऊ एउटा काबुली खुद्रा व्यापारी हो र म कुनै उच्च घरानाको बंगाली । अनि मैले अनुभव गरें- जे ऊ हो, त्यही म पनि हुँ । ऊ पनि बाबु हो र म पनि । उसको पर्वतवासिनी सानी पार्वतीको हातको निशानीले नै मेरी मिनीको याद दिलायो । मैले उत्तिखेरै मिनीलाई बाहिर बोलाएँ । घरमा सबैले यो कुरामा ठूलो आपत्ति जनाए तर मैले कसैको कुरा सुनिनँ । विवाहको रातो बनारसी साडी र निधारमा चन्दनको टीका सजाएर दुलही बनेकी मिनी लाजले भरिँदै मेरो छेउमा उभिइन् ।

उनलाई देखेर काबुली अचम्भित भयो । आफ्नो पुरानो कुरा दोहोर्‍याउन सकेन । अन्त्यमा हाँसेर बोल्यो, “मुन्नी, तिमी ससुराली जान्छ्यौ ?”

मिनीले विवाहको अर्थ बुझिसकेकी थिइन् । उनले पहिलेको झैं जवाफ दिइनन् । रहमानको प्रश्न सुनेर लाजले रातोपीरो भइन् र टाउको निहुराइन् । मलाई काबुलीसँग मिनीको पहिलो दिनको भेटघाट याद आयो । मन व्यथित भयो ।

मिनी गएपछि लामो निश्वास लिएर रहमान त्यही जमिनमा बस्यो । अचानक उसको मनमा आयो– उसकी छोरी पनि यति ठूली भइन् होला, उनीसँग पनि उसले नयाँ ढंगले कुराकानी गर्नु पर्ने होला । उसले अब छोरीलाई फेरि पहिले रुपमा पाउनेछैन । यी आठ वर्षमा थाहा छैन- उसको के भयो होला ।

बिहानको समय, जाडोको उज्यालो कोमल घाममा शहनाई बज्न थाल्यो र कलकत्ताको एउटा गलीमा बसेको रहमान अफगानिस्तानको मेरुपर्वतको दृश्य देख्न थाल्यो ।

मैले उसलाई एउटा ठूलो नोट निकालेर दिएँ र भनें, “रहमान तिमी आफ्नो देश आफ्नी छोरी भएको ठाउँमा जाऊ । तिमीहरु दुवैको मिलन–सुखले मेरी मिनीको कल्याण हुनेछ ।”

यो रुपैयाँ दान दिइसकेपछि मैले विवाह उत्सवमा दुई-चार चिज कम गर्नु पर्‍यो । मनमा जस्तो इच्छा थियो, त्यसरी बत्ती बाल्न सकिनँ । अंग्रेजी ब्यान्ड पनि मगाउन सकिनँ । घरमा पत्नीले असन्तोष प्रकट गर्न थालिन् तर मंगलज्योतिले मेरो यो शुभ आयोजन चम्कियो ।

                                                                                 * * *

साभार: बाह्रखरी

अनुवाद : विनिता पौडेल, डिकुरा प्रकाशन

Leave a comment